Wednesday, October 3, 2012

शिक्षामा ठुलो " लगानी भए पनि जनशक्ति उत्पादन हुन सकेनः " प्रम भट्टराई

 शिक्षामा ठुलो लगानी भए पनि जनशक्ति उत्पादन हुन सकेनः प्रम भट्टराई
इटहरी ।
प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति डा बाबुराम भट्टराईले देशको ठूलो हिस्सा बजेट लगानी भए पनि राष्ट्रले चाहेजस्तो उच्च गुणस्तरीय जनशक्ति उत्पादन गर्न नसकेको बताउनुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका छैठौं दीक्षान्त समारोहमा सो विश्वविद्यालयका कुलपतिको हैसीयतले पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका स्नातक तथा स्नाकोत्तर तहका विद्यार्थीहरुलाई दीक्षित गर्नुहुँदै आज प्रधानमन्त्री डा भट्टराईले सो कुरा बताउनुभएको हो ।
मोरङ जिल्लाको इन्द्रपुर गाविसका गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयका मुख्य स्थानमा पहिलो पटक छैठौं दीक्षान्त समारोहमा प्रधानमन्त्री डा भट्टराईले अब देशका उच्च शिक्षित जनशक्तिले देश बनाउने व्यवहारिक पक्षमा क्रियशील हुनुपर्नेमा जोड दिनुहुँदै अब शैक्षिक क्षेत्रमा गरिने आन्दोलन बन्द गर्नुपर्ने आवश्यकता माथि विशेष जोड दिनुभयो ।
प्रधानमन्त्री डा भट्टराईले विश्वविद्यालय वा कलेजका पदाधिकारीलाई थुनेर अबको शैक्षिक समस्या समाधान हुन नसक्ने जिकिर गर्नुभयो ।
देशले नयाँ संविधान प्राप्त नगरेको अवस्थामा फेरि पनि संविधान निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कार्य बाँकी रहेकाले त्यसतर्फ सबैले एक भएर लाग्नुपर्ने अवस्था रहेकाले शिक्षित जनशक्तिले पनि यो विषयमा गम्भीर भएर लाग्न प्रधानमन्त्री डा भट्टराईले जोड दिनुभयो ।
देशको ठूलो हिस्सा युवाहरु अहिले पनि शैक्षिक उपाधी प्राप्त गर्नका लागि विदेशमा जाने क्रम तीव्र रहेको तथा यसले देशको धनराशी पनि विदेशिने भएकाले अब यसलाई रोक्नका लागि उच्चशिक्षा हासिल गरेका युवा जनशक्तिले विशेष भूमिका निर्वाह गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री डा भट्टराईले नेपाल जल, जमिन र जङ्गल तथा जडीबुटीको अपार सम्पदा भएको मुलुक भएकाले  यसको उपयोग गर्दै पर्यटन प्रर्वद्धनका क्षेत्रमा काम गर्न सक्यौँ भने देशलाई आर्थिक रुपमा समुन्नत बनाई प्रतिव्यक्ति आयमा पनि वृद्धि गर्न सकिने अवस्था रहेको बताउनुभयो ।
सोही समारोहमा कार्यक्रमका संस्कृतिविद् सत्यमोहन जोशीले  विभिन्न जाति तथा जनजातिको संस्कृतिले धनी देश भए पनि समग्रमा यसको उपयोग गरेर सांस्कृतिक पर्यटन विकास गर्न नसकिएको बताउनुभयो ।
उहाँले  पूर्वी नेपाल विभिन्न पर्यटकीय र जातीय संस्कृतिले धनी क्षेत्र भएको उल्लेख गर्नुहुँदै यसको समुचित विकासका लागि सबैले मिलेर काम गर्न सके पूर्वी नेपालमात्र होइन देशलाई नै समुन्नत बनाउनका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका सात हजार विद्यार्थीलाई दीक्षित गर्नुकासाथै विभिन्न कलेजबाट  उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पदक र सम्मान प्रदान गरियो ।
आजै पूर्वाञ्चल विश्वविद्यालय सञ्चालक परिषद्ले रु ५९ करोड ८९ लाख ८९ हजारको बजेटलाई संशोधनसहित अनुमोदन पनि गरेको छ । सोही बैठकले पूर्वाञ्चल विश्वविद्यालयका नीति तथा कार्यक्रमसमेत अनुमोदन गर्दै विश्वविद्यालयले गुणस्तरीय पठनपाठन गर्न सकिने क्याम्पसहरु खुलाउँदै जाने र अन्य कलेजहरुलाई सम्बन्धन पनि प्रदान गर्ने निर्णय गरेको छ ।